धनुषा धाम — नेपाली कांग्रेसभित्र आधिकारिकता र नेतृत्वलाई लिएर सिर्जित विवाद थप पेचिलो बनेको छ। पार्टीको गगन थापा नेतृत्वको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा समूह भने तल्लो तहदेखि नै छुट्टै अधिवेशन र महाधिवेशनको तयारीमा जुटेको छ।
देउवा पक्षले आफ्नो सांगठनिक उपस्थितिलाई निरन्तरता दिन कात्तिक १५ गते देशभर जिल्ला अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। सोही रणनीतिअनुसार सिन्धुपाल्चोकमा कात्तिक १६ गते पूर्वमन्त्री एवं नेता मोहनबहादुर बस्नेतको गृहनगर बाह्रबिसेमा जिल्ला अधिवेशन आयोजना गरिँदै छ। बस्नेत स्वयम्ले उद्घाटन गर्ने उक्त कार्यक्रमका लागि आफ्ना निकट कार्यकर्ताहरूलाई सक्रिय सहभागी हुन आह्वान गरिएको छ।
यसअघि देउवा समूहले सङ्खुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी र रोल्पामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको दाबी गरेको छ। यस्तै, काठमाडौँ जिल्ला अधिवेशन कात्तिक २१ गते पूर्वसभापति देउवाको आतिथ्यतामा गर्ने तयारी छ।
देउवा समूहको घोषित तालिका अनुसार मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा छुट्टै केन्द्रीय महाधिवेशन सञ्चालन हुनेछ।
अर्कोतर्फ, असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको पक्षले तल्लो तहका जिल्ला र प्रदेश अधिवेशन नगरिकनै केन्द्रीय नेतृत्व टुङ्गो लगाएको थियो। सभापति थापाले देउवा समूहलाई अलग्गै गतिविधि नगर्न र पार्टीको मूलधारमा फर्किन आह्वान गर्दै एकताका लागि लचक हुने संकेत दिएका छन्। तर, देउवा पक्षले आफ्नो पूर्वघोषित समानान्तर तालिका रोकेको छैन।
पार्टीको आधिकारिक संरचना र वैधानिकताका विषयमा कानुनी तथा राजनीतिक अन्योल कायम रहेकै बेला दुवै पक्षका गतिविधिले नेपाली कांग्रेसको भावी राजनीतिक दिशा थप जटिल र अन्यौलतातर्फ धकेलिएको छ।
लेखक : कासिन्द्र शर्मा पत्रकार






















