Tuesday, May 3, 2016

रबिन्द्र मिश्रलाई खुल्लापत्र -तपाईं मिडिया आइकन हो ?

रबिन्द्र मिश्रलाई खुल्लापत्र- तपाई मिडिया आइकन हो ?

प्रकाशित मिति :  बुध, मंसिर २३, २०७२
ईश्वर अर्याल


आदरणीय रबिन्द्र मिश्र ज्यु नमस्कार !



१२ घन्टाको ड्युटी पश्चात् कोठामा आएर नुहाइधुवाइ सकेर, खाना पकाएर खाइसके पछिको यो सुत्नु भन्दा पहिलाको आधा घन्टाको समयमा तपाइँको करिब १८ हजार सेयर भएको नयाँ अर्थ-राजनीति सम्बन्धी लेख पढेर तपाईलाई खुल्लापत्र लेख्न गैरहेको छु । आजकल त यो खुल्लापत्र पनि फेसन भैसक्यो, जसले जसलाई लेखे पनि हुने, जे भन्दिए पनि हुने, आशा छ पढ्नुहुनेछ ।

पत्रकारले त नन-फिक्सन पो लेख्नु पर्छ, पल्पसा क्याफेको यो डाइलग मनमा आयो । तपाइँले फिक्सन लेख्न हुन्न भन्ने मेरो भनाइ हैन, तर पनि कहाँ कहाँनेर यो लेख अड्केको छ, ३ करोडमा १८ हजार सेयर भएर पनि कता कता २ करोड, उनान्सय लाख बयासी हजारको भाका यसमा समेटिएको मलाई चाहिँ लागेन ।

तपाईले सायद याद गर्नु भयो भने करिब एक हप्ता अगाडि तपाईंको फेसबुक पेजमा मैले म्यासेज छोडेको थिएँ, बिदेशमा विशेष गरेर गल्फमा बस्ने मध्ये करिब ५०० जनाको प्रतिनिधित्व गरेर लेखिएको म्यासेज थियो त्यो, मैले भनेको थिएँ, हामिले नेपालको वर्तमान उर्जा संकटलाइ निमिट्यान्न पार्ने काममा एक कदम अगाडि हामी बढ्न चाहन्छौ र खब्बुस खाएर बचेको एक महिनाको पैसा हामिले जलविद्युत आयोजनामा लगानी गर्छौं, त्यसको लागि यहाँले केही पहल या सुझाव दिनु पर्यो भनेर । अर्को दिनमा तपाईले मलाइ म्यासेज गरेर भन्नुभएको थियो, “प्रिय इश्वरजी, यसको बिषयमा मलाइ भन्दा जीवा लामिछाने जीलाई सोध्नुस, म यसको बिज्ञ होइन ।” मैले अझै स्पष्ट पार्न खोजेको थिएँ, तपाइले रिप्लाइ गर्नु भएन ।

मलाई तपाइँको त्यो जवाफ चित्त बुझेर या नबुझेर कसैलाई केही फरक पर्दैन । जीवा लामिछानेलाई मैले मात्र हैन, अरब र मलेसिया बस्नेहरु मध्ये धेरैले चिन्दैनन । मलाइ त लागेको थियो, हाकाहाकी दिनदिनै नेताहरुलाइ हप्काउने तपाइँ सङ्ग बिज्ञता छ, आज यस्तो लेख लेख्ने तयारी गर्दै हुनुहुदो रहेछ, मेरो कन्सर्न सुन्ने फुर्सद सायद त्यतिबेला नभएको पनि हुन सक्छ ।

अब कुरा गरौं, नया अर्थ राजनीतिको, तपाईलाई धेरै बिदेशी अर्थशास्त्री र राजनीतिज्ञको बारेमा थाहा रहेछ, तिनिहरुको देश बदल्ने शुत्रहरुको बारेमा पनि थाहा रहेछ । वास्तविक परिस्थिती भन्दा बाहिर गएर बिदेशी जलप लगाइएको यो लेख पढ्दा म जस्ताहरु कति खुसी भए होलान र कति दुखी भए होलान ।

नयाँ शक्ति भनेको पुरानो चामल नयाँ बोरामा हालेजस्तो हैन भन्नुभएको रैछ, मलाइ भन्न मन लागेको चाहिँ नया शक्ति भनेको बिदेशी चामल नेपाली बोरामा हालेर मेड इन नेपाल पनि लेख्नु होइन ।

शक्तिकै कुरा गर्ने हो भने अहिलेको समय गतिशक्ती ह्रास भएर देश स्थितिशक्तीमा निक्षेपण भएको अवस्था हो । कारपुलको बारेमा थाहा रहेछ तपाईलाई लाखौं युवाहरु बिना नेतृत्व राष्ट्रियता जोगाउने काममा संगठित बनेको देख्दा तपाइँलाई लाग्नु पर्ने हो यो रिजर्वायरमा जम्मा भएको पोटेन्सियल इनर्जीलाई एउटा टर्वाइन दिन सक्ने हो भने हज्जारौं मेघावाटको उर्जा मिल्न सक्ने थियो, तर बिडम्बना तपाई देशको एक नमुना ब्याक्तित्व भए पनि जीवा लामिछानेको पछि लाग्नुहुदो रहेछ, जसले दुख परेको बेलामा जायजेथा बेचेर अमेरिका, युरोप जस्ता देशमा गएर ग्रीनकार्ड लिएर बसेका मानिसहरुको प्रतिनिधित्व गर्ने गर्दछन । मलाई जानकारीमा आए अनुसार जीवाको संगठनले आफ्नो इज्जत जान्छ भनेर कतार, दुबई र साउदीमा लेबर काम गर्ने हज्जारौं मजदुरहरुलाई सदस्यता बितरण गर्न मानेका छैनन अरे ।

कुल जिडिपीको २२/३० प्रतिशत सम्म धानेका यिनै मजदुरहरुले हुन । मैले एनआरएनको दस्तावेजमा एकपटक पढेको थिएँ, नेपालमा लगानी गरिसके पछिको आएको प्रतिफल डलरमा साटेर सोही देशमा फर्काउन मिल्ने रहेछ । यदि यसो हो भने र तपाई अझै पनि हामी जस्ता युवाहरुलाइ जीवाको शरणमा पठाउन खोज्दै हुनुन्छ भने यत्रो मिहिनेत गरेर लेखेको तपाइँको यो लेखको सान्दर्भिकता बिलकुल ऋणात्मक हुनेछ ।

मलाई तपाईंको परोपकारी अक्षयकोषको बारेमा पनि बोल्न मन नलागेको हैन, साथसाथै रातो बङ्गला संगको तपाइको सम्बन्ध पनि मलाई जान्न मन नलागेको हैन । तर यी तमाम यथार्थहरुलाई छोडौं, तपाइँले त अहिले भैरहेको नाकाबन्दी, यसको कारण र यसको असर बारे पनि बोल्ने आवश्यकता ठान्नु भएन । अनि तपाइँको नयाँ अर्थ-राजनीतिले अहिलेको देशको भाषा नबोलेर बिदेशी भाषा बोल्छ भने, तपाईं देशको लागि बोल्दै हुनुन्छ् भनेर पत्याउन सकिने आधार के रह्यो र ?

आउनुहोस, हामीलाई प्रयोग गर्नुहोस, हामिले पठाएको अरबौ रुपयालाइ परिचालन गर्नुहोस, भनेर हामिले धेरै भन्यौं । तपाई मिडिया आइकन हो, कति बर्ष बेलायत बस्नु भयो तर तपाईलाई कति थाहा होला र, हामी त त्यस्तो देशमा बस्छौं, जहाँ बेलायतीहरु पनि आएर हामिले भन्दा धेरै काम गर्छन । पैसा लिनुस, योजना बनाउनुहोस र देशलाई अगाडी लैजानुहोस भनेर हामिले दिनदिनै गरेको अपिलको अगाडी तपाईको मसिनो र क्षुद्र जवाफ छ, “जीवा लामिछानेलाई भेट्नुहोस, म यसको बिज्ञ होइन ।”

यदि जलविद्युतको बिज्ञता पनि छैन र बिज्ञ पनि खोज्न सक्नुहुन्न भने तपाईको अगाडि माइक नै सुहाउछ, कृपया पत्रीकामा नेल्सन मण्डेलाले जस्तो भाषण नगरिदिनुहोस।

No comments:

Post a Comment